परालको आगो’ मा आधारित नयाँ फिल्मको वर्कसप सुरु
काठमाडौं।प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ चलचित्रको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ।
निर्माण टिमले चलचित्रलाई गुणस्तरीय बनाउन प्रमुख कलाकारहरूलाई एउटै ठाउँमा भेला गरी अभ्यास थालनी गरेको हो। वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने सहभागी रहेका छन्। कलाकारहरूले आफ्ना भूमिकालाई सजीव बनाउन विभिन्न अभ्यासहरूमा जुटिरहेका छन्।
चलचित्रका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा सक्रिय रूपमा सहभागी भएका छन्। निर्माता पोखरेलले फिल्मको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्। चलचित्रको निर्देशन लक्ष्मण सुनार गर्दैछन्।
गीत–संगीतको पक्षमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्दमा संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले संगीत दिनेछन्। वरिष्ठ संगीतकार ठटालसँग दुई महिनाअघि नै संगीत प्रयोगका लागि स्वीकृति लिइसकिएको निर्माण टिमले जनाएको छ।
फिल्मको छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीका सुन्दर स्थलहरूमा सुरु हुने भएको छ। सिनेमाटोग्राफीको जिम्मेवारी संकल्प भुजेलले सम्हाल्नेछन्। प्राविधिक टोलीमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टरिङ), सुशील देवकोटा (पटकथा) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन्।
स्मरणीय छ, ‘परालको आगो’ मैनालीको कथा–सङ्ग्रह ‘नासो’ मा समावेश चर्चित कथा हो। यस कथामा आधारित फिल्म झण्डै ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले निर्देशन गरेका थिए, जसले व्यावसायिक सफलता पाएको थियो।












