भारतीय विदेशसचिवको शीतलनिवास प्रवेश, राष्ट्रपति पौडेलसँग द्विपक्षीय सम्बन्धबारे छलफल
काठमाडौं।नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। आइतबार काठमाडौं आगमन गरेका सचिव मिश्रीले साँझ शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
शीतलनिवासले जनाएको अनुसार भेटमा नेपाल–भारतबीचको परम्परागत मित्रता, पारस्परिक हितका मुद्दा र आपसी चासोका विषयमा कुराकानी भएको छ। राष्ट्रपति पौडेलले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।
यसअघि भारतीय विदेशसचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश समेत सुनाएका थिए। सो अवसरमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रण समेत दिइएको थियो।
नेपाल भ्रमणको क्रममा सचिव मिश्रीले उच्चस्तरीय राजनीतिक नेतृत्वसँग द्विपक्षीय सम्बन्ध विस्तारबारे निरन्तर संवाद जारी राख्ने जनाइएको छ।












