सञ्चालनविहीन विद्यालयको अनुमति खारेज गर्ने तयारीमा काठमाडौँ महानगर – Sagarmathapana:: Online News Portal

सञ्चालनविहीन विद्यालयको अनुमति खारेज गर्ने तयारीमा काठमाडौँ महानगर

   २०८२ श्रावण ३१ गते  

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले दर्ता भए पनि वर्षौंदेखि सञ्चालनमा नआएका निजी तथा संस्थागत विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।

महानगरको शिक्षा विभागले स्थलगत अनुगमनमार्फत यस्ता विद्यालयहरूको अवस्थाबारे तथ्यांक संकलन गरिरहेको छ। विभागीय प्रतिवेदनको आधारमा विद्यालय खारेजीका लागि शिक्षा समितिमा प्रस्ताव लैजाने तयारी भइरहेको महानगरले जनाएको छ।

उपप्रमुख सुनिता डंगोलका अनुसार, हालसम्म २५ विद्यालयलाई नाम परिवर्तनको अनुमति दिइएको छ भने महिला ज्योति, जायना र जेम्स नमूना विद्यालयलाई वैकल्पिक रूपमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।

शैक्षिक सत्र २०८२ देखि रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई कक्षा १० सञ्चालनको अनुमति दिइएको छ। त्यस्तै पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धार अन्तर्गत कक्षा १२ मा सिभिल तथा कम्प्युटर इञ्जिनियरिङ विषय थप गर्न अनुमति प्रदान गरिएको छ।

यसबाहेक, १२ संस्थागत विद्यालयलाई नयाँ कक्षा र विषय थप्ने अनुमति दिने तयारी भइरहेको छ। नाम परिवर्तनका लागि कागजात पेस गरेका २१ विद्यालयले स्वीकृति प्राप्त गरिसकेका छन्। संस्थागत विद्यालय स्थानान्तरणका लागि भने छुट्टै मापदण्ड तयार गरी आगामी शिक्षा समितिमा पेश गरिने महानगरले जनाएको छ।

शिक्षा क्षेत्रमा सुधार ल्याउन महानगरले “बुक फ्री फ्राइडे” कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न थालेको छ। यसका लागि शिक्षा तथा स्वास्थ्य समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

सामुदायिक विद्यालय सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलले विद्यालय सञ्चालनका मापदण्ड, सामाजिक तथा स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन योजना समेटेर प्रतिवेदन पेश गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै