सहकारी ठगीमा संलग्न नेतामाथि कारबाही गर्न राप्रपाको माग
काठमाडौं।राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताले सहकारी क्षेत्रमा गरेका विकराल ठगीले लाखौं नेपालीको पसिनाको कमाइ जोखिममा परेको आरोप लगाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै शाहीले गृहमन्त्री रमेश लेखकलाई “सहकारी ठगहरूलाई कहिले कारागार हाल्ने?” भन्दै प्रश्न गरेका छन्। उनले बचतकर्ताको बिचल्ली र सुकुम्बासी बन्ने अवस्था आउँदासमेत दोषीहरू उन्मुक्ति पाइरहेको दाबी गरे।
शाहीले हालै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीस्थित कारागारमा राखिएको घटनालाई उदाहरण दिँदै नेपालको न्याय प्रणालीमा संरचनागत समस्या रहेको टिप्पणी गरे। “यो केवल लामिछानेको व्यक्तिगत विषय मात्र नभई नेपालका धेरै कैदीबन्दीहरूको साझा पीडा हो,” उनले भने।
उनका अनुसार, कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दी हुनु, आधारभूत मानवीय आवश्यकता र अधिकारको सुनिश्चितता नहुनु, तथा न्यायिक प्रक्रियामा ढिलाइ हुनु जस्ता समस्या वर्षौंदेखि समाधानविहीन छन्। यसले कैदीबन्दीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा नकारात्मक असर पारेको र मानवअधिकार हनन भइरहेको उनले आरोप लगाए।
शाहीले संविधानले प्रत्याभूत गरेको निष्पक्ष न्याय र मानवीय व्यवहारको पालनाका लागि तत्काल सुधारात्मक कदम चाल्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरे।












