३१औं विश्व आदिवासी दिवसमा तमु ह्युल छोज धि गुरुङ परिषदद्वारा चियापान तथा शुभकामना आदानप्रदान – Sagarmathapana:: Online News Portal

३१औं विश्व आदिवासी दिवसमा तमु ह्युल छोज धि गुरुङ परिषदद्वारा चियापान तथा शुभकामना आदानप्रदान

   २०८२ श्रावण २३ गते  

काठमाडौं-३१औं विश्व आदिवासी दिवसको अवसरमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदले राजधानीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। परिषदका अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

अध्यक्ष शेर्पाले सम्बोधनमा जल, जमिन र जंगलमा आदिवासी जनजातिहरूका परम्परागत हक अधिकारबाट वञ्चित भइरहेको उल्लेख गर्दै संविधानमा ती अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए। “महासंघ अहिले आदिवासी जनजातिका अधिकारको रक्षाका लागि निरन्तर संघर्षरत छ,” उनले भने।

कार्यक्रममा सुनुवार सेवा समाज, किरात राई यायोखा, किरात याक्थुङ चुम्लुङ, याखा छुम्मा, थारु कल्याणकारी समाज, नेपाल मगर संघ, बराम संघ, नेवा दे धाबु सहित नौ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो। उनीहरूले आदिवासी जनजातिहरूको साझा हितका लागि सबै संस्थाहरू एकजुट हुनुपर्नेमा जोड दिए। साथै, अन्तर्राष्ट्रिय श्रम संगठनको १६९ नम्बर कनभेन्सन (ILO 169) र संयुक्त राष्ट्रसंघको आदिवासी अधिकार सम्बन्धी घोषणा (UNDRIP) तत्काल कार्यान्वयन गर्न सरकारसमक्ष माग राखियो।

कार्यक्रममा गुरुङ समुदायको सांस्कृतिक पहिचान संरक्षणबारे छलफल र बहस समेत भएको आयोजकले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै