फोर्स गाडीमा समस्या, हलेसीका व्यवसायीको आधिकारिक वितरकसँग क्षतिपूर्ति माग
काठमाडौं-दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि.का अध्यक्ष हरिवहादुर राईसहितका यातायात व्यवसायीहरूले फोर्स कम्पनीका गाडी खरिदपछि निरन्तर प्राविधिक समस्या देखिएको भन्दै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.सँग क्षतिपूर्ति माग गरेका छन्।

उनका अनुसार, कम्पनीको प्रचारमा विश्वास गरी खरिद गरिएका गाडी खरिदको एक महिनाभित्रै इन्जिन सिज हुने, टायर गुड्दै गर्दा फुस्किने, अत्यधिक महँगो र कमजोर पार्टपुर्जाका कारण व्यवसाय नै संकटमा परेको छ।
पत्रकार सम्मेलनमा महासचिव देवान राईले भने, “करोडौंको लगानी डुब्ने अवस्थामा छ। गाडीहरू ग्यारेजमा थन्किएका छन्, कम्पनीले जिम्मेवारी लिन तयार छैन।”


समस्याको सुरुवात
वि.सं. २०७३ साउन २५ गते किनेको गाडी एक महिनामै इन्जिनमा खराबी आएपछि तत्कालीन अवस्थामा नै ग्यारेजमा पठाइयो। बारम्बार मर्मत गरिए पनि समस्या दोहोरियो। वि.सं. २०७५ सालमा पुनः इन्जिन बिग्रँदा महँगो मर्मत खर्च व्यहोर्नु परेको अध्यक्ष राईको भनाइ छ।
उनले भने, “एक वर्षसम्म हेर्दा पनि गाडी कम्पनीले समाधान गर्न सकेन। अहिले यो गाडी कम्पनीकै ग्यारेजमा थन्किएको छ।”
Press Bigyapti PDF
मागहरू
ग्यारेजमा थन्किएका सबै गाडीको पूर्ण क्षतिपूर्ति
सम्पूर्ण पीडित व्यवसायीहरूको पहिचान
प्राविधिक त्रुटिको सार्वजनिक स्वीकारोक्ति
दोषी कम्पनीविरुद्ध कारबाही
समाजसेवी रमेश पौडेलले जनतालाई ठग्ने माध्यमलाई जरैदेखि हटाउनुपर्ने आवश्यकता रहेको बताए। व्यवसायीहरूले चेतावनी दिएका छन्— माग सम्बोधन नभएमा उनीहरू अझ सशक्त आन्दोलनमा उत्रिनेछन्।














