ओली भन्छन्: ‘समावेशिता राजनीतिक पदका लागि मात्र हो, दीगो विकास शिक्षा र सीपबाटै’ – Sagarmathapana:: Online News Portal

ओली भन्छन्: ‘समावेशिता राजनीतिक पदका लागि मात्र हो, दीगो विकास शिक्षा र सीपबाटै’

   २०८२ श्रावण १८ गते  

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सुनिश्चित गरेको समावेशिता राजनीतिक पहुँचका लागि मात्र सीमित रहेको बताएका छन्। उनले समावेशितालाई कार्यक्षमता विकासको सन्दर्भमा प्रमुख आधार नमान्नु पर्ने तर्क प्रस्तुत गरे।

शनिबार काठमाडौंमा आयोजित सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “यो समावेशिता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो, कुनै कामको कुरा होइन यो।”

उनले सबै वर्ग, जाति र लिङ्गका व्यक्तिहरूले आफ्नो शिक्षा, सीप र क्षमता विकास गर्नुपर्नेमा जोड दिँदै भने, “डाक्टर, इन्जिनियर भए, राम्रो पढे भने महिलाहरू आफैं अगाडि बढ्छन्। त्यसकारण दीगो विकासको आधार भनेको एजुकेसन, स्किल र क्यापासिटी बिल्डिङ नै हो।”

प्रधानमन्त्री ओलीले क्युबाको उदाहरण दिँदै त्यहाँको डाक्टरी तथा प्राध्यापन पेशामा महिलाको वर्चस्व रहेको उल्लेख गरे। उनले त्यसलाई समावेशिता नभई क्षमताको परिणाम भने।

“क्युवामा धेरै महिला डाक्टर छन्, प्राध्यापक छन्। त्यो समावेशिता हैन, शिक्षा र क्षमता विकासकै परिणाम हो,” उनले दाबी गरे।

प्रधानमन्त्री ओलीको उक्त टिप्पणीले समावेशिता सम्बन्धी वर्तमान बहसमा नयाँ बहस थप्ने देखिएको छ। केहीले यसलाई समावेशी अधिकारको सीमित व्याख्या भनेका छन् भने अरूले यसलाई आत्मनिर्भरता र क्षमताको पक्षमा गरिएको तार्किक दृष्टिकोण मानेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै