दुई वर्ष नेकपा (एमाले) ,डेढ वर्ष नेपाली कांग्रेस प्रधानमन्त्री
काठमाडौं। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ।
देउवा र ओली बीचमा भएको सहमतिलाई कांग्रेस र एमालेले आ-आफ्नो पार्टीबाट स्वागत र अनुमोदन गराइसकेका छन्। तर ओली र देउवा को कति समय प्रधानमन्त्री बन्ने हो खुलाएका छैनन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत असार १९ गते बूढानीलकण्ठमा बसेको बैठकले एमालेसँग सत्ता सहकार्य गर्नेसम्बन्धी तीन वटा निर्णय गरेको थियो।
पहिलो,नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ।
दोस्रो, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ।
तेस्रो, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ।
यो निर्णयलाई कांग्रेसको संसदीय दल बैठकले पनि अनुमोदन गरेको छ। असार २२ गते बसेको संसदीय दल बैठकले एमालेसँग भएको सहमतिलाई स्वागत र समर्थन गरेको थियो। बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने पनि निर्णय भएको उल्लेख छ।
नेकपा (एमाले) ले पनि को कति वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको हो औपचारिक रूपमा पार्टीका निर्णय र विज्ञप्तिमा खुलाएको छैन।
महासचिव शंकर पोखरेलले असार २० गते जारी गरेको विज्ञप्तिमा एमाले र कांग्रेसबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको उल्लेख छ।
‘संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको बताउँदै एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षणसमेत गराएको थियो। ‘साथै राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आइतबार एमाले संसदीय दल बैठक बसेको थियो। उक्त बैठकले कांग्रेससँग भएको सहमतिलाई स्वागत गर्यो।












