धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने तयारी, विवाद चुलिँदै

काठमाडौं-निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न लाइसेन्स वितरणको तयारीसँगै विवाद चुलिँदै गएको छ। संघीय संसद र संसदीय समितिहरूमा कमिसनको खेल भइरहेको आशंका उठिरहेका बेला धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा लाइसेन्स वितरणलाई प्राथमिकतामा राखेको छ।
बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार, धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुनअनुसार स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार, केन्द्रीय निक्षेप सेवा, धितोपत्र व्यापारी, दलाल, मर्चेन्ट बैंकर, निक्षेप सदस्य र योग्य संस्थागत लगानीकर्तालाई अनुमति प्रदान गरिने उल्लेख छ।
यस्तै, आईपीओ, एफपीओ, हकप्रद, बोनस सेयर, ऋणपत्र निष्कासनका साथै सामूहिक लगानी योजना र विशेषीकृत लगानी कोषको दर्ता तथा स्वीकृतिलाई पनि बोर्डको योजनामा समेटिएको छ।
तर, लाइसेन्स वितरण प्रक्रियामा पारदर्शिताको प्रश्न उठ्दै आएको छ। संसदमा उठेका प्रश्न अनुसार ठूलो रकमको कमिसनको खेल भइरहेको आशंका रहेको छ। यद्यपि, बोर्डले भने नयाँ स्टक एक्सचेन्जमार्फत पूँजी बजार विस्तार गर्ने लक्ष्य अघि सारेको छ।