किमाथाङ्का नाका त्रिदेशीय सम्बन्धको केन्द्र बन्दैः मन्त्री खड्का
खाँदबारी,सङ्खुवासभा।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई राष्ट्रिय महत्वको नाका घोषणा गर्दै यसले नेपाल, भारत र चीनबीचको त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउने दाबी गरेका छन्।
शुक्रबार सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले किमाथाङ्का नाका वर्षभरि सञ्चालन गर्न सकिने भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको बताए।
“सडक सञ्जाल जोडिएसँगै यो नाका पूर्ण रूपमा सञ्चालनमा आउनेछ,” मन्त्री खड्काले भने, “चीन सरकार पनि किमाथाङ्का नाकामा विशेष चासो देखाइरहेको छ। यसले नेपालको भू-राजनीतिक हैसियतलाई अझ मजबुत बनाउनेछ।”
उनले भारतीय लगानीमा सञ्चालित जलविद्युत् आयोजना सन्दर्भमा दुवै छिमेकीसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता औंल्याए।
चैनपुरमा उद्घाटन गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले सङ्खुवासभासहित चार जिल्लामा प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटेर काम गर्ने मन्त्री खड्काले जानकारी दिए।
“स्रोत र साधन पर्याप्त हुँदाहुँदै पनि सङ्खुवासभा पछाडि परेको थियो,” मन्त्री खड्काले भने, “अब जनताको चाहना अनुसार बजेट विनियोजन गरिएको छ।”
उनले मन्त्रालयमार्फत ८० प्रतिशत ऊर्जा सम्बन्धी कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै अबको लक्ष्य विकास र समृद्धिमा केन्द्रित हुने बताए।












