थासाङको मार्चे लेकमा सुरु भयो याक–चौँरीको आलो रगत पिउने मेला – Sagarmathapana:: Online News Portal

थासाङको मार्चे लेकमा सुरु भयो याक–चौँरीको आलो रगत पिउने मेला

   २०८२ श्रावण ३ गते  

मुस्ताङ– थासाङ गाउँपालिका–थाक सातसय क्षेत्रको रमणीय चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत पिउने परम्परागत मेला सुरु भएको छ। मार्चे याक नाक कृषक समूहको आयोजनामा सुरु भएको मेलाले हिमाली जीवनशैली र प्राकृतिक उपचार पद्धतिको अनुपम झल्को दिएको छ।

सदियौँ पुरानो मानिएको यो मेलामा याक तथा चौँरीको जिउँदो रगत सेवन गर्दा पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक, दम, उच्च रक्तचाप, मधुमेह (चिनी), गानोगोला र यौनसम्बन्धी कमजोरी निको हुने जनविश्वास छ। मार्चे लेक करिब ४ हजार मिटर उचाइमा, निलगिरी हिमालको फेदीमा अवस्थित छ।

१० दिनसम्म चल्ने मेला

मेलाको औपचारिक सुरु अघि सामूहिक गोठपूजा गरिएको थियो। मेला आयोजक समूहका अध्यक्ष बुद्ध गौचनका अनुसार मेला १० दिनसम्म चल्नेछ। यस वर्ष प्रति गिलास आलो रगतको मूल्य २५० रुपैयाँ तोकिएको छ। करिब तीन सय जनाको सहभागिता रहने अनुमान गरिएको छ। स्थानीयले गोठहरुभित्रै होटल सञ्चालन गरी पाहुनाको आतिथ्य गरिरहेका छन्।

चरन क्षेत्रमा ८०० याक–चौँरी

मार्चे लेक क्षेत्रमा ताक्लुङ, सौरु, सिर्खुम, लार्जुङ र नाउरिकोटका कृषकका करिब १० वटा गोठ छन् जहाँ झण्डै ८०० भन्दा बढी याक र चौँरी छन्। गर्मीयाममा यी चौँरीहरू उच्च लेकमा ल्याइन्छ भने हिउँदमा बेंसी सारिन्छ।

स्थानीय किसान सोजन हिराचनका अनुसार याक–चौँरीले यार्सागुम्बा, पाँच औँले, निरमसी, जटामसी, सतुवा, चिची, कुरिलो, जिम्बु, बन लसुन जस्ता जडीबुटी सेवन गर्ने भएकाले तिनको रगत अत्यन्तै स्वास्थ्यवर्धक मानिन्छ।

कसरी पुग्ने?

मार्चे लेक पुग्न बेनी–जोमसोम राजमार्ग हुँदै कालीगण्डकी पार गरेर तीनदेखि पाँच घण्टाको पैदल उकालो लाग्नुपर्छ। सौरु र चिमाङबाट पनि गोरेटो बाटो हुँदै यहाँ पुग्न सकिन्छ।

हिमाली संस्कृति, स्वास्थ्य र पर्यटनको अद्भुत समिश्रण बोकेको यो मेला स्थानीयको मात्र नभई बाहिरी पर्यटकको पनि चासोको विषय बन्न थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै