घरजग्गाको कारोबार बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत – Sagarmathapana:: Online News Portal

घरजग्गाको कारोबार बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत

   २०८१ असार २१ गते  

काठमाडौं । आर्थिक वर्ष अन्त्य नजिकिँदै गर्दा वर्षभरीको नाफा घाटाको हिसाब निकाल्न लागेका बैंकहरूलाई बढ्न थालेको घरजग्गाको कारोबारले केही राहत दिने देखिएको हो। घरजग्गाको कारोबारमा झिनै भए पनि सुधार आउन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई केही राहत पुगेको छ।

‘साना–साना जग्गाको किनबेच बढ्न थालेकोले केही सजिलो हुन थालेको सबैजसो बैंकरहरूले भनिरहनु भएको छ,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।
चालु आर्थिक वर्ष २०८०/८१ को माघ अघि घरजग्गाको कारोबार घटबढ भइरहेको थियो। तर माघदेखि वैशाखसम्मै घरजग्गा कारोबार स्थिर रह्यो। जेठमा भने कारोबारमा केही सुधार देखियो।

विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो। वैशाखमा देशभर ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएका थिए।

यो कारोबार गत वर्ष जेठको मासिक कारोबारको तुलनामा पनि ११ प्रतिशतले धेरै हो। गत जेठमा देशभर ५५ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो।
घरजग्गाको मूल्यमा सामान्य गिरावट आइरहेको भए पनि कारोबारमा केही सुधार भइरहेको र यो क्रम असारमा पनि देखिएको बैंकरहरूले बताएका छन्।

यही कारण बैंकहरूको कर्जा असुलीमा पनि केही सहज भएको छ।
‘नेपाली ऋणीहरूको प्रवृत्ति कम्तीमा वर्षअन्त्यमा कर्जाका किस्ता बाँकी नराख्ने छ,’ केसीले थपे, ‘यही कारण बैंकहरूको कर्जा असुलीमा केही न केही टेवा पुगेको छ।’

त्यस्तै, केही समयदेखि सेयर बजारमा समेत झिनो सुधार देखिदै गएको छ। यसले पनि लगानीकर्ताहरूको ऋण भुक्तानी क्षमतामा केही न केही वृद्धि गर्ने मानिएको छ।

बैंकर केसी अब बैंकहरूको खराब कर्जा धेरै वृद्धि नहुने अनुमान गर्छन्।
चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा औसत ३.९८ प्रतिशत छ।
खुद खराब कर्जा करिब १.१४ प्रतिशत छ। यो अनुपातमा बजारमा हल्ला आएजसो ५/७ प्रतिशत पुग्ने गरेर धेरै वृद्धि नहुने बैंकरहरूको भनाइ छ।

तर, खराबबाट असलमा वर्गीकरण भएका कर्जाको प्रावधान रकम ६ महिनासम्म घटाउन नमिल्ने व्यवस्थाले अहिले नै खराब कर्जामा सुधार आएको भने नदेखिने बैंकरहरू बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै