उर्लाबारीमा सम्पन्न अनलाइन टिभी पत्रकार संघ, कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन – Sagarmathapana:: Online News Portal

उर्लाबारीमा सम्पन्न अनलाइन टिभी पत्रकार संघ, कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन

   २०८२ श्रावण २ गते  

काठमाडौ-अनलाइन भिडियो पत्रकारितामा क्रियाशील पत्रकारहरूको साझा संस्था अनलाइन टिभी पत्रकार संघ, नेपाल को कोशी प्रदेशस्तरीय प्रथम अधिवेशन मोरङको उर्लाबारीमा ऐतिहासिक रूपले सम्पन्न भएको छ। अधिवेशनले उर्लाबारीका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

प्रदेश कार्यसमितिमा झापाका खगेन्द्र घिमिरे उपाध्यक्ष, मोरङका सरोज बस्नेत सचिव, सुनसरीका विनोद राना मगर सहसचिव, र मोरङकै सम्झना राई कोषाध्यक्षमा चयन भएका छन्।

त्यस्तै, प्रदेश समितिका सदस्यहरूमा किशोर निरौला, विजय भट्टराई, अफ्ताब अली र निशान ढकाल रहेका छन्।

२०७६ सालमा काठमाडौंमा स्थापना भएको अनलाइन टिभी पत्रकार संघले डिजिटल माध्यममार्फत पत्रकारितामा संलग्न पत्रकारहरूको अधिकार, हैसियत र दक्षता अभिवृद्धिका लागि कार्य गर्दै आएको छ। संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार हालसम्म दुई प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी प्रदेशहरूमा पनि निकट भविष्यमा अधिवेशन गर्ने तयारी भइरहेको छ।

उनका अनुसार संघले हालसम्म १५ जिल्लामा जिल्ला शाखा विस्तार गरिसकेको छ र चाँडै केन्द्रीय अधिवेशन आयोजना गर्दै संगठन विस्तारलाई तीव्रता दिने योजना बनाइएको छ।

इन्टरनेट पत्रकारिता क्षेत्रलाई मर्यादित र उत्तरदायी बनाउने उद्देश्यले संघले नेपालमै पहिलोपटक ‘अनलाइन टिभी स्वनियमन निर्देशिका’ जारी गरी कार्यान्वयनमा ल्याइसकेको छ। साथै, संघले आफ्ना सदस्यहरूलाई नियमित तालिममार्फत दक्ष बनाउन समेत निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै