फिल्म ‘गुन्यो चोलो – द ड्रेस’ को नयाँ गीत सार्वजनिक, नाजिरको दमदार नृत्यले दर्शक लोभ्याउने – Sagarmathapana:: Online News Portal

फिल्म ‘गुन्यो चोलो – द ड्रेस’ को नयाँ गीत सार्वजनिक, नाजिरको दमदार नृत्यले दर्शक लोभ्याउने

   २०८२ असार ३२ गते  

काठमाडौं–अभिनेता नाजिर हुसेनको प्रमुख भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘गुन्यो चोलो – द ड्रेस’ को नयाँ गीत सार्वजनिक गरिएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको उक्त गीत मंगलबार OSR डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा अभिनेता नाजिर हुसेनको दमदार नृत्य प्रस्तुत गरिएको छ भने गायिका मनिषा पोखरेलको स्वरले गीतलाई भावुकता र गहिराइ दिएको छ। लेखु सहयात्रीको शब्द तथा संगीत रहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

फिल्ममा नाजिरले एक पारलैंगिक महिला (ट्रान्सवुमन) को संवेदनशील र चुनौतीपूर्ण भूमिका निभाएका छन्। यथार्थता दिनका लागि उनले करिब १६ केजी तौल घटाएका थिए, जुन उनको समर्पणलाई झल्काउँछ।

समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी, उत्तम केसी लगायतका कलाकारको अभिनय देख्न पाइनेछ।

फिल्मको कथा, पटकथा र संवाद निर्देशक समुन्द्र भट्ट र अभिनेता नाजिर हुसेनको संयुक्त लेखनमा तयार गरिएको हो। दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ को सहकार्य रहेको छ।

फिल्मको छायांकन आलोक शुक्ला, सम्पादन माइकल हेरिङ, एसोसिएट निर्देशक भद्र भुजेल, निर्माण नियन्त्रणमा पुष्कर लामा र व्यवस्थापनमा यम ओली रहेका छन्।

फिल्म ‘गुन्यो चोलो – द ड्रेस’ आउँदो भदौ १३ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै