पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक, समावेशी राजनीतिदेखि अन्तर्राष्ट्रिय भूमिकासम्मको दस्तावेज
काठमाडौं–पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट औपचारिक रूपमा https://www.bidyabhandari.com.np मा सार्वजनिक गरिएको छ।
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक यात्रा, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा सम्बोधनहरू, साथै तस्बिर र अभिलेखहरू समावेश गरिएको यो वेबसाइटलाई प्रामाणिक डिजिटल अभिलेखका रूपमा प्रस्तुत गरिएको छ।
पूर्वराष्ट्रपतिका स्वकीय सचिव राजकुमार राईका अनुसार वेबसाइटले लोकतान्त्रिक मूल्यहरू, लैङ्गिक समानता, समावेशी राजनीति, समाजवाद उन्मुख दृष्टिकोण, तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा भण्डारीले पुर्याएको योगदानलाई दस्तावेजीकरण गर्ने उद्देश्य राखेको छ।
सचिव राईले वेबसाइट सार्वजनिक गर्दै भने, “सार्वजनिक जीवनका विविध पक्षहरूलाई एकै थलोमा ल्याएर, शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि सहज पहुँचयोग्य सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने अपेक्षा गरिएको छ।”
वेबसाइटमा समावेश सामग्रीहरूलाई समयअनुसार अद्यावधिक, परिमार्जन, तथा थप जानकारीसहित निरन्तर समृद्ध बनाइने योजना पनि सचिव राईले जानकारी दिए।
पूर्वराष्ट्रपति भण्डारीको यो डिजिटल पहिचानले उनको भविष्यको राजनीतिक यात्रा र सार्वजनिक भूमिकालाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ।













