जलविद्युत् दिगो विकासमा सरकार प्रतिबद्ध : वन तथा उर्जा मन्त्री
काठमाडौं।जलविद्युत् क्षेत्रमा दिगो विकास र आर्थिक समृद्धिको मार्ग प्रसस्त गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आ-आफ्नो मन्त्रालयको योजनाबद्ध कार्यप्रवृत्तिबारे जानकारी गराएका हुन्।

वन तथा वातावरणमन्त्री शाहीले जलविद्युत् क्षेत्रलाई नेपालको ‘महत्वपूर्ण मेरुदण्ड’ को रूपमा व्याख्या गर्दै यसको समुचित उपयोगले मात्र ऊर्जा सुरक्षामा मात्रै होइन, समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए।
उनले भने, “जलविद्युत् क्षेत्र नेपालको मेरुदण्ड हो। यसको दिगो विकासमा वन तथा वातावरण मन्त्रालय निरन्तर प्रतिबद्ध छ। अपार सम्भावनालाई मूर्तरूप दिन हामी जिम्मेवार ढंगले अघि बढिरहेका छौं।”
शाहीले जलविद्युत् आयोजनाहरूका लागि आवश्यक वन क्षेत्रको हस्तान्तरण र उपयोगमा नेपाल सरकारले प्रभावकारी प्रणाली अपनाएको पनि उल्लेख गरे।
त्यसै अवसरमा उर्जा मन्त्री दीपक खड्काले मन्त्रालयको स्पष्ट उद्देश्यसहित अगाडि बढिरहेको बताए। उनले पूर्वमन्त्रीहरूप्रति संकेत गर्दै विगतमा परिणाममुखी काम नभएको पनि जनाए।
उनले भने, “पूर्वमन्त्रीले मन्तव्य राख्नुभयो, प्रश्न त मसँग पनि थियो नि—१२ वर्ष चलाउँदा के गर्नुभयो भनेर। अहिले हामी स्पष्ट कार्ययोजनासहित अघि बढेका छौं।”
मन्त्री खड्काले सरकारको १० वर्षे ऊर्जा मार्गचित्रअनुसार २८ हजार ५ सय मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए।
“अबको १० वर्षमा हामी झण्डै २५ हजार मेघावाट उत्पादन गर्छौं। मार्गचित्र २०८१ अनुसार हामी काम गरिरहेका छौं,” उनले थपे।
कार्यक्रममा ऊर्जा क्षेत्रका लगानीकर्ता, निजी उत्पादक, सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।












