इटहरीमा फेसियल हाउसको नयाँ शाखा उद्घाटन, महिला सशक्तीकरण र सौन्दर्य सेवामा नयाँ युगको सुरुवात
इटहरी – नेपालकै सौन्दर्य सेवा क्षेत्रमा स्थापित नाम बनाइसकेको फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै कोसी प्रदेशको प्रमुख व्यापारिक केन्द्र इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
शाखा उद्घाटनको अवसरमा आयोजित एक विशेष समारोहमा इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिबन काटेर शाखा शुभारम्भ गरे।
कार्यक्रममा बोल्दै सुष्मा महराले भनिन्, “फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा सुरु गरेको हो। कोभिड महामारीका कारण केही समय सेवा रोकिएको भए पनि अहिले हामी पूर्वका सेवाग्राहीहरूलाई लक्षित गरी इटहरीमा नयाँ शाखा संचालनमा ल्याएका छौं। सस्तो, सुलभ र गुणस्तरीय सेवा हाम्रो मुख्य उद्देश्य हो।”
संघका अध्यक्ष जिवन पराजुलीले फेसियल हाउसले इटहरीलाई सौन्दर्य सेवाको केन्द्र बनाउने दिशामा खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थालाई आगामी सफलताका लागि शुभकामना दिए। वडा नं ६ का अध्यक्ष दिवस पोख्रेलले पनि शाखा विस्तारप्रति धन्यवाद दिँदै फेसियल हाउसको प्रभावबारे पहिलेदेखि जानकारी रहेको बताए।
कार्यक्रमकी प्रमुख अतिथि उप–प्रमुख संगीता कुमारी चौधरीले भनिन्, “राम्रो देखिनु र आत्मविश्वासका साथ अगाडि बढ्नु महिलाहरूको चाहना हो। सौन्दर्य सेवा महिलाको आत्मबल र पहिचानसँग जोडिएको विषय हो। फेसियल हाउसले शाखा विस्तार गर्दै महिला सशक्तीकरणमा योगदान दिएको छ, यसका लागि बधाई छ।”
फेसियल हाउस इटहरी शाखाबाट अब ग्राहकहरूले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, मेनिक्योर–पेडिक्योर, हाइड्रा फेसियलजस्ता अत्याधुनिक सेवा एकै स्थानमा प्राप्त गर्न सक्नेछन्। संस्थाले निकट भविष्यमा कोसी प्रदेशका अन्य शहरहरूमा समेत सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।












