त्रिभुवन विमानस्थलमा खादा, माला र पहिचान झल्कने पोसाकमा प्रतिबन्ध – Sagarmathapana:: Online News Portal

त्रिभुवन विमानस्थलमा खादा, माला र पहिचान झल्कने पोसाकमा प्रतिबन्ध

   २०८२ असार २७ गते  

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रभित्र खादा, माला तथा कुनै जातीय वा संस्थागत पहिचान झल्काउने पोसाक र वस्तुहरूमाथि निषेध लगाइएको छ। अध्यागमन कार्यालयले सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सो प्रकारका पहिरन तथा चिन्हहरू प्रयोग नगर्न अनुरोध गरेको हो।

विमानस्थल प्रशासनका अनुसार यात्रुहरूको पोसाकले अध्यागमन प्रशासन तथा सुरक्षा संयन्त्रमा भ्रम सिर्जना गर्ने, अनुचित विशेष व्यवहारको भान दिलाउने वा संवेदनशीलतालाई चुनौती दिने सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

निषेध सूचीमा पारम्परिक टोपी, ब्याज, खादा, माला, झण्डा, वा संस्थागत/जातीय पहिचान झल्काउने अन्य कुनै प्रतीकात्मक पोसाक तथा सामग्रीहरू पनि पर्ने छन्।

अध्यागमन क्षेत्रलाई निष्पक्ष र सबैका लागि समान बनाउने उद्देश्यले नियम लागू गरिएको भन्दै विमानस्थल प्रशासनले यसलाई सबै यात्रु र आगन्तुकले सम्मानपूर्वक पालना गर्न अनुरोध गरेको छ। नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट चेतावनी पनि दिइएको छ।

विमानस्थलले यात्रुहरुलाई अध्यागमन क्षेत्र प्रवेश गर्नु अघि पोसाक तथा साथमा रहेका चिन्ह जन्य सामग्रीको पुनः समीक्षा गर्न सुझाव दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै