रुकुम पूर्वको चौँरीखर्क : बनफूलले ढाकिएको नयाँ पर्यटकीय गन्तव्य
काठमाडौँ।रुकुम पूर्व, भूमे गाउँपालिका–१ मा अवस्थित चौँरीखर्क क्षेत्र आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। समुद्री सतहबाट झण्डै ४,००० मिटरको उचाइमा फैलिएको यो रमणीय स्थल अहिले रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडाका कारण चर्चामा छ।


चौँरीखर्कको प्राकृतिक सौन्दर्य, शीतल हावा, र फुलेका बनफूलहरूले जो–कोहीको मन लोभ्याउने प्रकारको वातावरण सिर्जना गरेको छ। त्यहाँ पुग्ने जो–कोहीलाई ताजगी, शान्ति र प्रकृतिको अनौठो अनुभूति हुन्छ।
यो क्षेत्रसम्म पुग्न मध्यपहाडी लोकमार्गको पाथीहाल्ने (रुकुम पूर्व–बागलुङ सिमाना) बाट करिब ३ घण्टाको पैदल यात्रा गर्नुपर्छ। छोटो दूरीको रोमाञ्चक यात्रा र वन–जंगलको साथमा यात्रुहरूलाई स्वर्गजस्तो अनुभूति दिलाउने चौँरीखर्क अहिले धेरैको रुचिको गन्तव्य बनेको छ।
स्थानीय तहले समेत चौँरीखर्क क्षेत्रको पूर्वाधार विकासमा चासो देखाउँदै आएको छ। पर्यटक भित्र्याउन पदमार्ग, विश्रामस्थल, संकेत बोर्ड लगायतका सुविधा विस्तार गर्ने योजना बनाइएको भूमे गाउँपालिकाले जानकारी दिएको छ।
चौँरीखर्कको पर्यटन प्रवर्द्धनले रुकुम पूर्वको समग्र आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने स्थानीयवासीको विश्वास छ। प्राकृतिक सौन्दर्यमा रम्न चाहने पर्यटकका लागि चौँरीखर्क अब उत्तम विकल्प बन्दै गएको छ।












