बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट – Sagarmathapana:: Online News Portal

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट

   २०८१ असार ६ गते  

काठमाडौं।  प्रधानमन्त्री बोलेका बेला शीर्ष नेता संसद बैठकमा नदेखेपछि प्रधानमन्त्री दाहाल असन्तुष्ट देखिएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोस्टमबाट बोल्दा सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताहरू बैठकमा थिएनन्।

प्रधानमन्त्री बोल्ने बेला संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासहित सत्ताघटक दलका शीर्ष नेता पनि उपस्थित हुने परम्परा विगतमा थियो।
तर बिहीबार यस्तो देखिएन। शीर्ष नेता र विभिन्न दलका सांसदहरू पनि अनुपस्थित रहँदा प्रधानमन्त्री बोलेका बेला सदनका केही कुर्सी खाली थिए।

प्रधानमन्त्री दाहाल रोस्टममा बोल्न जाने बेला बैठकमै देखिएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्री बोलुन्जेल बैठकमा बसेनन्।
सत्ताघटक सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री दाहाल बोलेका बेला बैठकमा थिएनन्।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने बैठकमा थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष अशोक राई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत पनि बैठकमा थिएनन्।

प्रधानमन्त्री दाहालले सुरूमा आफ्नो भारत भ्रमण र राष्ट्रपतिको स्वीटजरल्याण्ड र जर्मनी भ्रमणबारे सदनलाई जानकारी गराएका थिए।

एमाले सांसद रघुजी पन्त, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र सांसद प्रदीप पौडेल लगायतले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग विगतका बैठकमा राखेका थिए।
कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री सदनबाट भागेको हो कि के हो भन्ने प्रश्न पनि गरेका थिए। त्यसतर्फ लक्षित गर्दै प्रधानमन्त्री दाहालले त्यो कुरा सुन्दा आफूलाई नमीठो लागेको बताएका थिए।

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्ने सांसदहरू नै जबाफ सुन्ने बेला नहुने हो कि भन्ने चिन्ता लागे पनि बैठकमा उपस्थित भएकोमा प्रधानमन्त्री दाहालले धन्यवाद पनि दिएका थिए।
यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले सोधेका प्रश्नको जबाफ दिए। १० जना सांसदले विभिन्न विषयमा प्रधानमन्त्रीलाई लिखित प्रश्न सोधेका थिए भने त्यसमा प्रधानमन्त्री दाहालले जबाफ दिए।

सांसदहरूका प्रश्नमाथि जबाफ दिइसकेपछि प्रधानमन्त्री दाहालले एउटा प्रसंग उठाए।
‘सदनको परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्ता पक्ष र प्रतिपक्षका पनि सबै नेताहरू, माननीयहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो,’ प्रधानमन्त्री दाहालले रोस्टमबाटै भने, ‘तर क्रमस अब त्यो पातलिन थालेको छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै