६१ लाख पारिश्रमिक,नेपाली चलचित्र उद्योग : हल्ला र भाइरलको नयाँ सिनेमाटिक यात्रा – Sagarmathapana:: Online News Portal

६१ लाख पारिश्रमिक,नेपाली चलचित्र उद्योग : हल्ला र भाइरलको नयाँ सिनेमाटिक यात्रा

   २०८२ असार २३ गते  

काठमाडौँ –नेपाली चलचित्र उद्योग यतिबेला नयाँ उचाइमा पुगेको छ। हो, तपाईँले ठान्नुहोला, कथा, कलाकारिता, प्रविधि वा बजारमा? होइन! हाम्रो फिल्म क्षेत्र अहिले हल्ला, भाइरल क्लिप र फेक न्यूज को सागरमा डुबुल्की मार्दैछ।चर्चामा आउनु छ? फिल्म हिट बनाउनु छ?

छोटो सजिलो सूत्र छ – “६१ लाख पारिश्रमिक मागेको अफवाह चलाउनुहोस्, अनि नायक बन्न तयार हुनुहोस्!”

न त पोस्टर राम्रो हुनु पर्छ, न त स्क्रिप्ट। चलचित्र फ्लप भए पनि हल्ला हिट भइहाल्छ।

अचम्म त तब लाग्छ जब दर्शकले भन्दा पहिले फेसबुक पेज र टिकटक क्रिएटरहरूले फिल्मको समीक्षामाथि समीक्षा गर्न थाल्छन्।

नयाँ निर्माताहरूको कथा  हल्लाको भुमरीमा फसेका सपनाहरू नेपाली फिल्म क्षेत्रमा पाइला राख्ने बित्तिकै नयाँ निर्माता र नयाँ कलाकारहरूलाई एउटा अदृश्य खेलमा होमाइन्छ –“हल्ला उत्पादन केन्द्र”,“विवाद स्टुडियो”, “फेक भाइरल प्रमोशन डिपार्टमेन्ट” दर्शकले चलचित्र हेर्ने होइन, चलचित्रको कन्ट्रोभर्सी हेर्ने चलन बसेको छ।

चलचित्र रिलिज हुन नपाउँदै:कलाकारको अफेयरको हल्ला ,पारिश्रमिकको झगडा,निर्माता–निर्देशकबीचको फेसबुक स्टाटस वार,यूट्युब अन्तरवार्तामा आँसु यिनै चिजले बनाइदिन्छ ‘भाइरल हिट’। 

चलचित्र बजार : कसले सुन्ने? कसले हेर्ने? कसरी अघि बढ्ने?

दर्शकको मन जित्ने कथावस्तु त कता हरायो कता! हलसम्म पुग्ने दर्शक कम, र रियाक्सन भिडियो हेर्ने दर्शक बढ्दैछन्।

वास्तविक प्रश्न – कुन निर्माता दर्शकका लागि फिल्म बनाइरहेका छन्? कसरी नयाँ पुस्तालाई सकारात्मक सिनेमा संस्कार दिन सकिन्छ? कहिले होला जब हाम्रो चलचित्र उद्योग हल्ला होइन, उत्कृष्ट सिनेमाले चल्ने?

अब दर्शक-श्रोता पनि परिपक्व भइसके।

उनीहरूलाई चलचित्र बुझ्नका लागि न पोस्टर चाहियो, न कथा, न हलसम्म पुग्नु पर्‍यो।

 फेसबुकमा दुईचार अफवाह पढे, टिकटकमा एक–दुई सस्पेन्स कट भिडियो हेरे,अनि बनिसक्यो ‘हिट’ वा ‘फ्लप’ को ठप्पा!

निर्माता–निर्देशक ज्युहरू, अब समय भयो तपाईंहरूका लागि नयाँ नाटक मञ्चन गर्ने।यो नाटकको नाम हो:‘हिट बनाउने भाइरल कथा’ र ‘फ्लपको सहानुभूतिको कभरस्टोरी’। हल्ला, भाइरल र अफवाहको बादलमा हराएको सिनेमा सपना आजभोलि हाम्रा चलचित्रकर्मीहरू नयाँ फिल्म बनाउनभन्दा फेसबुक स्टाटस कोरिरहेका छन्, युट्युब अन्तरवार्तामा आफूलाई सच्चा सिद्द गराउँदै छन्, र विवादमै व्यस्त छन्।

दर्शक हलसम्म पुग्नुपर्ने कारण हराइसक्यो। किनकि:हिट फिल्म हेर्न हल जानुपर्छ भन्ने नियम खारेज भइसकेको छ।अब त हल्ला नै हिटको प्रमाणपत्र हो।

होइन, कहिलेसम्म हामी यही नाटकमा रमाउने??

फेरि यही हल्ला र भाइरलको चक्रमा पलायन त हुँदै छैन हाम्रो सिनेमा उद्योग? कहिलेसम्म हाम्रा सिर्जनशील निर्माता, निर्देशक र कलाकारले हल्ला र भाइरलको हतियार बोकेर मात्र अगाडि बढ्ने? कहिलेसम्म छलफल गर्ने फोरम, समीक्षा गर्ने मञ्च, र गुणस्तरीय सिनेमाको बहस हराइरहने?

 चलचित्रकर्मी र विज्ञहरूसँग प्रश्न : अब त के साँचो अर्थमा सिनेमा रचनाको समय आएको हो? अब त के फिल्मलाई कथा र मेहनतले हिट बनाउने बेला आएको हो? कि अझै केही समय हल्ला–फेक प्रमोशनमै रमाउने?

यदि नेपाली चलचित्र क्षेत्र अझै हल्ला र भाइरलकै भरमा दौडिरह्यो भने सिनेमा हलका ढोका बन्द हुनेछन्, तर टिकटक र युट्युबका लाइभहरू खुल्ला रहनेछन्।सिनेमा बनाउनेहरू अझै हिटको सपना हल्लाबाट खोजिरहनेछन्।अब समय छ फिल्मले बोलेको हिट होस्, हल्लाले होइन। दर्शकले हलमा तालि बजाओस्, फेसबुकमा होइन।

नेपाली फिल्म उद्योगलाई अब चाहिएको छ: कथा, मेहनत र दर्शकको विश्वासमा आधारित सिनेमा ई-क्रान्ति।

हल्लाको होइन, हल्ला चिर्ने शक्तिशाली कथाको समय आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै