वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को फर्स्टलुक सार्वजनिक, दर्शकमा उत्सुकता थपियो – Sagarmathapana:: Online News Portal

वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को फर्स्टलुक सार्वजनिक, दर्शकमा उत्सुकता थपियो

   २०८२ असार २२ गते  

काठमाडौँ।नेपाली चलचित्र क्षेत्रमा पहिलोपटक वैज्ञानिक कल्पनामा आधारित महत्त्वाकांक्षी प्रोजेक्टका रूपमा निर्माण भइरहेको फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा चलचित्रका सबै प्रमुख पात्रहरूको लुक्स प्रस्तुत गरिएको छ।

यसअघि कान्स फिल्म फेस्टिभल मा स्टलमार्फत अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान गराइसकेको ‘एक्लो’ को फर्स्टलुकसँगै दर्शकको जिज्ञासा र उत्सुकता झनै बढेको देखिएको छ। फर्स्टलुक सार्वजनिक भएसँगै फिल्मको टिजर र अन्य प्रचार सामग्री प्रती दर्शकको प्रतिक्षा चुलिएको छ।

चलचित्रका निर्देशक प्रदीप शाही हुन्, जो बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका छन्। उनी यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन् र ‘एक्लो’ लाई हलिउड स्तरको प्रविधि र प्रस्तुति दिई निर्माण गरिरहेका छन्। फिल्मको पोस्ट-प्रोडक्सन हाल लण्डनमा भइरहेको निर्माण टिमले जनाएको छ। फिल्म क्रिसमस अवसर पारेर पुष महिनामा प्रदर्शन गर्ने योजना रहेको छ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकार जेमिन श्रेष्ठ, स्योन सविक सिंह र बेलायती अभिनेता जेमी बेकन को अभिनय रहेको छ।

फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

छायांकन बाबु श्रेष्ठ ले गरेका हुन् भने द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा, र प्रोडक्सन डिजाइन द्रोण प्रसाद पौडेल ‘ठेउके’ को रहेको छ।

फिल्म ‘एक्लो’ लाई नेपाली चलचित्र उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फको गम्भीर प्रयास का रूपमा हेरिएको छ।फर्स्टलुक हेर्न दर्शकलाई ओएसआर डिजिटलको युट्युब च्यानलमा आमन्त्रण गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै