पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास तालिम काठमाडौंमा सुरु
काठमाडौं—नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा काठमाडौंको मनाङ होटलमा दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” सुरु भएको छ।
कार्यक्रमको उद्घाटन भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले गर्नु भयो। उद्घाटन समारोहमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी र माओवादी केन्द्र सहकारी विभाग प्रमुख लिलामणि पोखरेल विशेष अतिथि थिए।

अन्य वक्ताहरूमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेत, सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्साल र बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे रहनुभएको थियो।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले गर्नुभयो भने सञ्चालन महासचिव तेज बहादुर बोहोराले गर्नुभएको थियो। अतिथिहरुलाई स्वागत संघका सञ्चालक रुपेश तिमिल्सिनाले गर्नुभयो।

यो तालिमको मुख्य उद्देश्य पर्यटन सहकारी संस्थामा आवद्ध सहकारीकर्मीहरूको नेतृत्व तथा क्षमता विकास गर्दै आत्मनिर्भर सहकारी प्रणालीमार्फत पर्यटन विकासमा योगदान पु¥याउनु रहेको छ। तालिममा १५० भन्दा बढी सहकारीकर्मीहरूको सहभागिता रहेको छ।
संघका अनुसार पर्यटन सहकारी संघले सहकारी मार्फत पर्यटन व्यवसाय प्रवर्द्धन, स्थानीय गन्तव्यको पहिचान र सामुदायिक संलग्नता विस्तारमा विशेष योगदान पु¥याउँदै आएको छ।
नेपाल पर्यटन केन्द्रीय सहकारी संघ सन् २०१४ (२०७१ असार १२) मा संस्थापक अध्यक्ष लक्ष्मण यादवको नेतृत्वमा स्थापना भएको हो। हाल संघमा १८ जिल्ला संघ र ८२ प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन्।
तालिमले पर्यटनको माध्यमबाट सहकारीलाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।














