केदार घिमिरेको नयाँ अवतार : ‘माग्ने राजा’ टिजरले दर्शकलाई हसाउँदै
काठमाडौं।नेपाली हास्य चलचित्रमा नयाँ स्वाद ल्याउने तयारीमा रहेका चर्चित कलाकार केदार घिमिरे (माग्ने बुढा) अब सिल्भर स्क्रिनमा ‘माग्ने राजा’ को रूपमा देखिने भएका छन्। सोमबार सार्वजनिक गरिएको टिजरले दर्शकलाई हास्यको नयाँ संसारमा डुबाउने संकेत दिएको छ।
करिब दुई मिनेट लामो टिजर संवाद, प्रस्तुती र शैलीको विविधताले भरिपूर्ण छ। माग्ने बुढाका रूपमा सानो पर्दामा लोकप्रिय बनेका घिमिरे यसपटक ‘राजा’ को भेषमा देखिएका छन्। उनको साथमा अर्का हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) भान्जाको भूमिकामा देखिएका छन्, जसले चर्चित जोडीलाई फेरि ठुलो पर्दामा एकसाथ ल्याएको छ।
टिजरमा अभिनेत्री वर्षा सिवाकोटी र शिशिर वाङ्देलको पनि झलक देखिन्छ तर उनीहरूका भूमिकाबारे टिमले खुलासा गरेको छैन। माग्ने बुढाको नयाँ लुक र चरित्रले दर्शकको कौतूहल बढाएको छ।
आरम्भ प्रोडक्सन को ब्यानरमा बनेको ‘माग्ने राजा’ का प्रस्तुतकर्ता मुनाल घिमिरे हुन् भने मधुसुदन शर्मा निर्माता हुन्। ऋषि लामिछानेको निर्देशनमा बनेको यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको कथा, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। टिजर साहिल खानले तयार पारेका हुन्।
फिल्म आगामी भदौ ६ गते नेपालसहित विदेशमा एकसाथ प्रदर्शनमा आउनेछ। यसको वितरण आरआर फिल्मले गर्नेछ।












