बलिउड अभिनेत्री शेफाली जरीवालाको निधन : कारण अझै अज्ञात
काठमाडौँ।बलिउडकी चर्चित अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। ४२ वर्षीया जरीवालाको मृत्युको कारण हालसम्म स्पष्ट हुन नसकेको मुम्बई प्रहरीले जानकारी दिएको छ।
मुम्बई प्रहरीका अनुसार शुक्रबार राति १ बजे जरीवालाको निधनसम्बन्धी सूचना प्राप्त भएको थियो। उनी अन्धेरी उपनगरस्थित आफ्नै अपार्टमेन्टमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनका पति अभिनेता पराग त्यागीले उनलाई तत्कालै बेलेभ्यु मल्टिस्पेसलिटी अस्पताल पुर्याएका थिए। अस्पताल स्रोतका अनुसार उनलाई राति ११:१५ बजेतिर अस्पताल ल्याइएको थियो र ड्युटीमा रहेका चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
मृत्युको कारण पुष्टि गर्न उनकाे शव कुपर अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। प्रारम्भिक अनुमानमा हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने बताइए पनि परिवारजन वा नजिकका प्रतिनिधिबाट औपचारिक वक्तव्य आउन बाँकी नै छ।
मुम्बई प्रहरी र फोरेन्सिक टोलीले शेफाली जरीवालाको घरमा पुगेर घटनास्थलको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
शेफाली जरीवाला सन् २००२ मा सुपरहिट गीत ‘काँटा लगा’ बाट चर्चामा आएकी थिइन्। साथै, उनी ‘नच बलिए’ र ‘बिग बोस १३’ जस्ता लोकप्रिय रियालिटी शोहरूमा समेत सहभागी भएकी थिइन्।
उनको निधनले बलिउड र उनका प्रशंसकहरूमा शोकको छायाँ छाएको छ।












