काठमाडौं महानगरमा ‘बजेट ब्लक’:नेतृत्व र प्रशासनबीचको झगडाले रोकियो नीति निर्माण
काठमाडौं।देशकै सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिका आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउन असफल भएको छ। संघीय कानुनअनुसार असार १० भित्र नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्नुपर्ने बाध्यता हुँदाहुँदै महानगर यस पटक चुक्नु परेको हो।
बजेट नआउनुको पछाडि कार्यपालिका र प्रशासनबीचको आन्तरिक द्वन्द्व मुख्य कारण बनेको छ। महानगरका मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच पछिल्लो समय देखिएको असमझदारी चरम अवस्थामा पुगेपछि बजेट निर्माण प्रक्रियामा अवरोध आएको स्रोतको दाबी छ।
यसबीच, देशभरका अधिकांश पालिकाले कानुन अनुसार असार १० भित्र बजेट प्रस्तुत गरिसकेको सन्दर्भमा काठमाडौं महानगरको असफलता प्रशासनिक लापरवाहीको ज्वलन्त उदाहरणका रूपमा देखिएको छ। स्थानीय तहमा जनताको दैनिक सेवा प्रवाह र पूर्वाधार योजना यसै बजेटमार्फत कार्यान्वयन गरिने भएकाले बजेट नआउनुले व्यापक असर पार्ने विश्लेषण गरिएको छ।
अहिलेसम्म पनि महानगरले बजेट ल्याउने मिति स्पष्ट पारेको छैन। आन्तरिक खिचातानी कायमै रहे वर्तमान अवस्था लामो समय रहिरहँदा महानगरवासीका दैनिक सेवा, निर्माण योजना तथा सहकार्यमा समेत संकट उत्पन्न हुन सक्ने देखिएको छ।












