नबिल बैंकका नव नियुक्त सीईओ ज्ञवालीलाई काठमाडौँमा दैलेखी समाजको सम्मान” – Sagarmathapana:: Online News Portal

नबिल बैंकका नव नियुक्त सीईओ ज्ञवालीलाई काठमाडौँमा दैलेखी समाजको सम्मान”

   २०८२ असार १० गते  

काठमाडौं–दैलेखी सेवा समाज, काठमाडौंको आयोजनामा नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीलाई बधाई तथा शुभकामना अर्पण गर्ने भव्य कार्यक्रम सम्पन्न भएको छ। मनोज ज्ञवाली कर्णाली प्रदेशबाट पहिलो पटक कुनै वाणिज्य बैंकको सीईओ बन्न सफल व्यक्तित्व हुन्, जसले सम्पूर्ण कर्णाली र दैलेखको शिर उचो बनाएका छन्।


कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्रताप शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सीईओ मनोज ज्ञवाली स्वयं उपस्थित रहनुभएको थियो।

विशिष्ट अतिथिमा शिक्षाविद् खड्ग शिजापती, समाजसेवी तथा मनोज ज्ञवालीका गुरु वद्री लम्साल, साथै ज्ञवालीका पिता जनार्दन ज्ञवाली, आमा पुष्पा ज्ञवाली र पत्नी संगीता ज्ञवालीको विशेष उपस्थिति थियो।

कार्यक्रममा कलाकार सपना शाहीको समेत उपस्थिति रही, जसले समारोहमा कला र सौन्दर्यको अलगै रौनक थपिन्।

कार्यक्रमको सञ्चालन दैलेखी सेवा समाजका महासचिव भक्त विश्वकर्माले गरिरहनुभएको थियो भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष चक्रबहादुर चन्दले राख्नुभएको थियो।

शुभकामना मन्तव्य राख्दै समाजका सल्लाहकार प्रेम थापाले मनोज ज्ञवालीजस्तो इमानदार, कर्मठ र दिगो सोच बोकेका व्यक्तित्व बैंकको नेतृत्वमा पुग्नु दैलेख र कर्णालीकै गौरव भएको बताउँदै भन्नुभयो, “उहाँ नबिल बैंकको मात्रै होइन, अब देशको अर्थतन्त्र सुधारको बाटो तय गर्ने नेतृत्वरूपमा अगाडि बढ्नुपर्छ।”

कार्यक्रममा मनोज ज्ञवालीका शिक्षकसमेत रहनुभएका अतिथिहरूले भावुक हुँदै स्मरण गरे— “हामीले पढाएको विद्यार्थी आज यति ठूलो जिम्मेवारीमा पुग्दा हाम्रो आफ्नै सम्मान बढेको महसुस भइरहेको छ।”

अन्य वक्ताहरूले ज्ञवालीलाई युवाहरूको प्रेरणाको स्रोत, ‘कर्णालीको हिरा’, र ‘इमानदारीको प्रतिमूर्ति’को संज्ञा दिँदै अबको यात्रामा राष्ट्र बैंकको गभर्नरसम्म पुग्ने शुभकामना व्यक्त गरे।

कार्यक्रमको प्रारम्भ शान्तिपाठबाट गरिएको थियो भने समापन अध्यक्ष प्रताप शाहीले मनोज ज्ञवालीलाई सफल कार्यकालको शुभकामना दिँदै गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै