इरान–इजरायल युद्ध चर्किंदै, अमेरिका पनि सक्रिय – इरानले २७ मिसाइल प्रहार गर्दा ८६ जना घाइते
काठमाडौं-इरान–इजरायलबीचको द्वन्द्व थप चर्कंदै गएको छ, अमेरिकी हस्तक्षेपले स्थिति अझै नाजुक बनेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। अमेरिकी वायुसेनाले इरानका तीनवटा प्रमुख आणविक केन्द्रमा आक्रमण गरेपछि इरानले इजरायलमा मिसाइल वर्षा गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इरानले इजरायलतर्फ कम्तीमा २७ वटा मिसाइल प्रहार गरेको छ। तीमध्ये २२ वटा मिसाइल देशव्यापी रुपमा विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यहरूमा खसालिएको र बाँकी ५ वटा मिसाइल इजरायलको हाइफा क्षेत्रलाई लक्षित गरिएको जनाइएको छ।
इजरायली स्वास्थ्य सेवा अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएअनुसार, मिसाइल आक्रमणमा परी कम्तीमा ८६ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
इरानी सेनाले इजरायलको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बेन गुरिओन एयरपोर्टलाई समेत लक्षित गर्दै मिसाइल आक्रमण गरेको दाबी गरेको छ।
दोस्रो चरणमा इजरायली वायुसेनाले तत्कालै प्रतिक्रिया जनाउँदै इरानको पश्चिमी क्षेत्रमा बमवर्षा गरेको पुष्टि गरिएको छ।
यसअघि सोमबार बिहान अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा सटीक हमला गरिसकेको थियो। अमेरिकी रक्षा विभागका अनुसार ती हमला पछि उनीहरूको विमान सुरक्षित रूपमा फर्किएको थियो।
युद्धको यो नयाँ चरणले सम्पूर्ण मध्यपूर्व क्षेत्र तनावपूर्ण बनेको छ भने विश्व शक्तिहरूले संयम अपनाउन दुबै पक्षलाई आग्रह गरिरहेका छन्।












