इजरायल र इरानमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेमा सरकार उद्धारको तयारी अवस्थामा छः मन्त्री राणा
काठमाडौं–परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन् । परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा.राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारेमा छलफलका क्रममा सो जानकारी गराएकी हुन् ।
मन्त्री डा.राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उनीहरु स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिईन् । ‘जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमाक्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरु स्वदेश फर्कन चाहेमा उहाँहरुको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ,’– उनले भनिन् ।












