मेनु
Flash News

सिटामोल’को झुम्का कानैमा गीत सार्वजनिक, साउन २३ बाट प्रदर्शनमा

काठमाडौं।आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘सिटामोल’ को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त गीतले कर्णाली प्रदेशको मौलिक हुड्के नाच र देउडा शैलीलाई आधुनिक लोक फ्लेवरमा समेटेको छ।

गीतमा बाबुल गिरीको संगीत तथा स्वर रहेको छ भने गोविन्द भट्टले लेखेको शब्दलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन्। भिडियोमा प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमालको रोचक केमेस्ट्री देख्न सकिन्छ। कोरियोग्राफी कविराज गहतराजले तयार गरेका छन् भने प्रवीन सिंहले छायांकन गरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले गीतलाई मन छुने भन्दै सम्पूर्ण निर्माण टिमलाई शुभकामना दिएका थिए।

कार्यक्रममा निर्देशक राजबहादुर सानेले ‘सिटामोल’ आफूले बनाएको अहिलेसम्मकै उत्कृष्ट सिनेमा भएको दाबी गरे। उनले भने, “यो सिनेमा मेरो करिअर नै बदल्नेछ भन्ने विश्वास छ। हामीले दुःख गरेर बनाएको यो फिल्मले नेपाली समाजको यथार्थ बोकेको छ।”

सिनेमामा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्रीकृष्ण र जानुकाको यो डेब्यु सिनेमा हो।

तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा बनेको यस सिनेमामा प्रदीप भारद्धाज र निर्देशक साने स्वयंको कथा छ। सिनेमा सिमोस सुनुवारको प्रस्तुति हो भने भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता रहेका छन्।

सिनेमाको संगीत बाबुल गिरी, कोरियोग्राफी कविराज गहतराज, सम्पादन बन्दे प्रसाद, कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइन मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, र छायांकन दिव्य सुवेदीले गरेका छन्। सिनेमाको पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन्।