ग्वार्को फ्लाइओभरमा चार दिनपछि सवारीसाधन सञ्चालन, असार ६ गते उद्घाटन – Sagarmathapana:: Online News Portal

ग्वार्को फ्लाइओभरमा चार दिनपछि सवारीसाधन सञ्चालन, असार ६ गते उद्घाटन

   २०८२ असार ३ गते  

काठमाडौं—ललितपुरको ग्वार्कोस्थित बहुप्रतीक्षित फ्लाइओभर अन्ततः सवारीसाधनका लागि खुला हुने भएको छ। मुख्य संरचना निर्माण सम्पन्न भएसँगै आगामी चार दिनपछि फ्लाइओभर सञ्चालनमा ल्याउने तयारी भएको छ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार अहिले फ्लाइओभर सञ्चालनको अन्तिम तयारी भइरहेक‍ो छ। असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित विभागका उच्च अधिकारीहरूले स्थल निरीक्षण गरी बाँकी कामहरू छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए।

फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएपछि हाल लेन सेपरेटर राख्ने, सडक लाइनिङ गर्ने, सवारी सुरक्षासम्बन्धी अन्य स-साना कामहरू भइरहेको विभागले जनाएको छ।

सडक विभागका अनुसार यी कार्यहरू पूरा भएसँगै ग्वार्को फ्लाइओभर चार दिनभित्र सवारीसाधनका लागि पूर्ण रूपमा खुला हुनेछ, जसले ललितपुरको ट्राफिक व्यवस्थापनमा ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै