दिया पुनद्वारा युरोपको सर्वोच्च शिखर आरोहण,“सेभेन समिट्स” यात्राको चौथो सफल पाइला
काठमाडौं।नेपाली अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहान एलिट एक्सपेडिसनका टेजन गुरुङ र रसियन गाइड लिउन अताबिएभ तथा एड्गरसँगै शिखरमा पुगेकी हुन्।
यो सफल आरोहणसँगै उनले “सेभेन समिट्स” — सातै महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने चुनौती — तर्फ आफ्नो चौथो कदम सुरक्षित गरेकी छन्। यसअघि उनले माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका) र अकोंकागुवा (दक्षिण अमेरिका) सफलतापूर्वक आरोहण गरिसकेकी छिन्।
अब उनको लक्ष्य ओसियानियाको कार्स्टेन्स पिरामिड, उत्तर अमेरिकाको डेनाली र अन्टार्कटिकाको माउन्ट विन्सन रहेको छ।
दिया पुन आफ्नो हालको चलचित्र “एक्लो” को प्रचार अभियानसँगै यो पर्वतारोहणमा निस्केकी थिइन्। उनले एल्ब्रुसको शिखरमा नेपालको झन्डा र चलचित्र “एक्लो” को पोस्टर समेत फहराएकी थिइन्। केही हप्ता अघि कान्स फिल्म फेस्टिभलमा “एक्लो” को स्टलमार्फत प्रचार गरिएको थियो, जसपछि चलचित्रले थप चर्चा पाएको छ।
दिया पुनको यो साहसिक उपलब्धि नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहणको नक्शामा थप मजबुत रुपमा चिनाउने प्रयास पनि हो।












