न्यायिक समितिको महत्त्वबारे जनचेतना फैलाउन लिखु गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Sagarmathapana:: Online News Portal

न्यायिक समितिको महत्त्वबारे जनचेतना फैलाउन लिखु गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

   २०८२ जेष्ठ १७ गते  

काठमाडौं।गणतन्त्र दिवस २०८२ को अवसरमा ओखलढुंगाको लिखु गाउँपालिकाले न्यायिक समितिको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले अन्तर-माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ।

स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउँदै समुदायमा यसको कार्यक्षेत्र र उपयोगिताबारे जानकारी दिन आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो। प्रतियोगितामा ‘न्याय निरुपणमा न्यायिक समितिको भूमिका’ विषयमा प्रतिस्पर्धीहरूले सशक्त प्रस्तुति दिएका थिए।

यसएम माध्यमिक विद्यालयका छात्र रोशन बस्नेत र छात्रा सोनिका लामिछानेले प्रथम स्थान हात पार्न सफल भए। ग्रामोदय युगकवि सिद्धिचरण माविका केशव भट्टराई र दिलिसा पौडेल दोस्रो तथा भीमसेनस्थान मावि नर्मदेश्वरका समीर खड्का र केशरी नेपाली तेस्रो स्थानमा रहे। लेती मावि पोकलीका अम्बर भुजेल र जनजीवन मावि वाच्पुकीकी पूजाश्री घिमिरे सान्त्वना स्थानमा परे।

विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रथम हुनेले जनही १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार, र सान्त्वना स्थान प्राप्त गर्नेले ३ हजार रुपैयाँ प्राप्त गरे।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि ओखलढुंगा जिल्ला अदालतका जिल्ला न्यायाधीश गिरिराज गौतमले विजेतालाई सम्मान गरेका थिए। प्रतियोगिताको उद्घाटन सत्रमा न्यायाधीश गौतमसँगै गाउँपालिका अध्यक्ष अशोक कुमार कार्की, उपाध्यक्ष अस्मिता थापा ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउत सहभागी थिए।

स्थानीय तहमा देखिने सानातिना विवाद समाधान गर्न न्यायिक समितिहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। यस प्रकारका सचेतनामूलक कार्यक्रमहरूले समितिलाई जनमुखी र सक्षम बनाउँदै न्यायमा सहज पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमले संविधानले स्थानीय तहका न्यायिक समितिलाई पूर्ण न्यायाधीशको भूमिकामा राखेको भन्दै न्यायिक समितिबाट भएका कारवाही कानूनसरह हुने बताएका छन् ।

न्यायाधीश गौतमले विद्यालय तहदेखि नै न्यायिक समितिको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए ।

उनले अहिलेसम्म देशमै यस्तोखाले पहिलो कार्यक्रम भएको भन्दै स्थानीय तहको क्षेत्राधिकारमा पर्ने न्यायिक समिति संयोजक पूर्ण न्यायाधीश हुने बताए । न्यायिक समितिले गरेका कामलाई कानूनले मान्यता दिएर प्रबद्र्धन गर्ने र ती फैसला कानूनसरह हुने बताए ।

गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले न्यायिक समितिका कामहरुलाई पालिकाले व्यवस्थित गरिरहेको बताए ।
न्यायिक समिति संयोजक समेत रहेकी लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले न्यायिक समितिको बारेमा जानकारी नहुँदा सर्वसाधारणले अझै पनि आधारभूत कानूनी सुविधा पाउन नसकेको बताइन् ।

उपाध्यक्ष थापाले प्रतियोगिताले विद्यार्थीहरूमा न्यायिक चेतना अभिवृद्धि गर्नुका साथै नागरिकले पाउनुपर्ने न्याय र न्यायिक समितिको कार्यक्षेत्रप्रति व्यापक जानकारी पुर्‍याएको बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै