ओली सरकार पूर्ण रूपमा असफल भएको उपेन्द्र यादवको दाबी, विचौलियाले मुलुक चलाएको आरोप – Sagarmathapana:: Online News Portal

ओली सरकार पूर्ण रूपमा असफल भएको उपेन्द्र यादवको दाबी, विचौलियाले मुलुक चलाएको आरोप

   २०८२ बैशाख ३१ गते  

काठमाण्डौ।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्ण रुपले असफल भैसकेको टिप्पणी गरेका छन्। देशमा कुशासन र भ्रष्टाचारीको राज हावी भएको टिप्पणी गर्दै उनले विचौलिया र कमिसनखोरले मुलुक चलाएको आरोप लगाए।

हिजो (सोमबार) जसपा नेपालको पहिलो मोरङ जिल्ला अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैंले प्रतिबद्धता जनाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा कुनै काम नगरेकै कारण सरकार पूर्ण असफल भएको दावी गरेका हुन् ।

सबै नियुक्ति, नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म बिचौलियाहरू नै निर्णायक भएको भन्दै अध्यक्ष यादवले सबैखाले नियुक्ति लेनदेनका आधारमा हुने गरेको आरोप लगाए । त्यसैको परिणाम म्याद सकिनु एक महिनाअघि नियुक्त गर्नुपर्ने गभर्नर म्याद सकिएको लामो समयसम्म पनि नियुक्त हुन नसकेको अध्यक्ष यादवले बताए ।

व्यक्तिगत महत्वाकांक्षाका कारण यो सरकार गठन भएको भन्दै लूटतन्त्र र कमिसनतन्त्रको चलखेलमा अहिले राज्य चलिरहेको अध्यक्ष यादवको आरोप छ । विधिको शासन स्थापना र अनेक बेतिथिसँगै भयवाह बन्दै गएको भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकले निकाश नपाउने अध्यक्ष यादवले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै