सामाजिक सुरक्षा कोषसम्बन्धी रिट निवेदन अब पूर्ण इजलासले हेर्ने
काठमाडौँ। बैंकका कर्मचारी र सामाजिक सुरक्षा कोष सम्बन्धी रिट निवेदन अब पूर्ण इजलासले हेर्ने भएको छ । अहिलेकै यथास्थितिमा सामाजिक सुरक्षा कोषमा सहभागी हुन नसक्ने भन्दै बैंकका कर्मचारीहरूले कोष विरुद्ध सर्वोच्च अदालतमा हालेको रिटमा न्यायाधीशहरूकै राय बाझिएपछि उक्त रिट पूर्ण इजलासमा पेश हुने भएको हो ।
न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासमा आइतवार भएको सुनुवाइमा न्यायाधीशद्वयको राय नै अलग–अलग भएपछि अन्तरिम आदेशको टुंगो पूर्ण इजलासले लगाउने भएको हो ।
न्यायाधीश केसीले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने आदेश गरे पनि न्यायाधीश श्रेष्ठले त्यसमा असहमति जनाउँदै अलग राय पेश गरेका छन् ।
‘माननीय न्यायाधीश तेजबहादुर केसीबाट अन्तरिम आदेश जारी गर्ने गरी भएको उपरोक्तानुसारको आदेशसँग सहमत हुन नसकी आफ्नो यो बेग्लै राय व्यक्त गरेको छु,’ न्यायाधीश श्रेष्ठले पेश गरेको रायमा भनिएको छ ।
बैंकका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा जाने कुरालाई ऐच्छिक गर्नुपर्ने, बाध्यकारी व्यवस्था गरिए पनि अवकाश वा पेन्सनमध्ये एक रोज्न पाउनुपर्ने लगायतका व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।सामाजिक सुरक्षा कोषले यथास्थितिमा सहभागिताका लागि दबाब दिएपछि उनीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् ।












