टोखामा शान्ति सुरक्षा र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

टोखामा शान्ति सुरक्षा र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

   २०८१ चैत्र ३१ गते  


काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आयोजनामा र टोखा नगरपालिकाको सहकार्यमा “स्थानिय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धि सचेतनामूलक कार्यक्रम” आइतबार सम्पन्न भएको छ। कार्यक्रम टोखा नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।


कार्यक्रमको सभाध्यक्षता जिल्ला प्रमुख अधिकारी ऋषिराम तिवारीले गरेका थिए। प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी तथा विशेष अतिथिका रूपमा उपप्रमुख मुरारी तामाङको उपस्थिति रहेको थियो।


कार्यक्रममा जिल्ला सुरक्षा समितिका प्रमुखहरू, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाभित्रका सम्पूर्ण वडा अध्यक्षहरू, वडा सदस्यहरू, पत्रकारहरू तथा नगरपालिका र वडास्तरका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रकाश अधिकारीले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवाप्रवाह सुदृढ गर्न स्थानीय तहले अग्रसर भूमिका खेल्नुपर्ने धारणा राखे। उनले भने, “समृद्ध र सुरक्षित टोखा निर्माणका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य छ। नागरिकको प्रत्यक्ष सेवासम्बन्धी विषयमा समयमै प्रतिक्रिया दिने र समाधान खोज्ने प्रक्रियामा नगरपालिका प्रतिबद्ध छ।”


त्यस्तै, सभाध्यक्ष ऋषिराम तिवारीले शान्ति सुरक्षा कायम राख्न समुदाय, स्थानीय तह र प्रशासनबीचको समन्वय झनै मजबुत बनाउनुपर्ने बताए। उनले भने, “अपराध नियन्त्रणका लागि सूचनाको आदानप्रदान, जनचेतना र ऐक्यबद्धता महत्वपूर्ण हुन्छ। सेवा प्रवाह पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने दिशामा सबै तहले समन्वय गर्नु आवश्यक छ।”


कार्यक्रममा सहभागी अन्य वक्ताहरूले समेत स्थानिय तहमा शान्ति सुरक्षा र सेवा प्रवाह सुदृढ गर्न सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए।
कार्यक्रमले नागरिक–प्रशासन–स्थानीय तहबीचको सम्वाद र सहकार्यलाई सुदृढ गर्दै समाजमा सचेतना अभिवृद्धि गर्ने अपेक्षा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै