बिहीबार पनि उठ्न सकेन सेयर बजार – Sagarmathapana:: Online News Portal

बिहीबार पनि उठ्न सकेन सेयर बजार

   २०७८ भाद्र ३१ गते  

काठमाडौँ– सेयर बजार बिहीबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ७६।६५ अंकले घटेको छ। २।६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार ८ सय १२।३८ बिन्दुमा पुगेको छ।सेयर बजार नियमित कारोबार सत्रको सुरुदेखि नै घट्न थालेको थियो। त्यसका बाबजुद बजारले तीन–तीन पटकसम्म उठ्ने प्रयास गरेपनि एक पटक पनि बढ्न सकेन।१० देखि १५ अंकको सुधार हुँदै बजार बढ्ने संकेत देखिंदा बिक्री चाप ह्वात्तै बढ्न थालेपछि केही छिनमै बजार थप ओरालो लागेको थियो। सुरुको १५ मिनेटभित्रै ५० अंकले बजार घटेपछि १५ अंकले सुधार भएको थियो।

१२ बजेपछि ७० अंकसम्म घटिसकेको बजार २० मिनेटको अन्तरमा करिब २५ अंकले सुधार भएर फेरि उही विन्दुमा आएको थियो। तर उक्त विन्दुमा सूचक १० मिनेट पनि टिक्न नसक्दा बजार थप तल झर्दै गयो। लगातार पौने २ बजेसम्म घटेको बजार ९५ अंकले ओर्लिंदै २७९५ बिन्दु सम्म झरेको थियो।पौने दुई बजेपछि २० मिनेट लगाएर ३२ अंकसम्म सुधार भएको बजार फेरि ओरालो लाग्दा २८०५ विन्दुसम्म आएको थियो। तर अन्तिममा केही अंक सुधार भएपछि ७६ अंकको गिरावटसहित २८१२ विन्दुमा बजार बन्द भएको हो।आज १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। आज कारोबार भने केहि बढेको छ।

यसै भदौको ३ गते बिहीबार अहिलेसम्मकै उच्चबिन्दु ३१९८।६० अंकमा पुगेको थियो। त्यसपछि भने बजारमा उतारचढाव आइरहेको छ। कारोबारको अन्तिम दिन र महिनाको अन्तिम दिनसम्म बजार ३८६।२२ अंकले तल झरेको हो ।यस्तै साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएको थियो । तर त्यो पनि घट्दै गइरहेको छ।आज म्युचुअल फण्ड, लगानी, बैंकिङ र अन्य समूहबाहेक अरु सबै उपसमूहको सूचक कम्तिमा ११० अंकदेखि ४५२ अंकसम्म घटेका छन्। सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह ४५२ अंक र निर्जीवन बीमा समूह ३८३ अंकले घटेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै