समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा: प्रधानमन्त्री ओली – Sagarmathapana:: Online News Portal

समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा: प्रधानमन्त्री ओली

   २०८१ मंसिर १५ गते  

लुम्बिनी /लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्का रुप नै आफूहरुले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरेका छन् ।  प्रधानमन्त्री  ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

अभिभावको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे ।

कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित हुनुभएको थियो । प्रधानमन्त्री ओलीले जीवनमा कसैको कुभलो नचिताउने तथा सँधै सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्नुहुने गुरुमाले मानार्थ विद्यावारिधिको सम्मान स्वीकार गरेर विश्वविद्यालय लाई थप सुपरिचित गराएको बताए

“मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन । मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो ।” प्रधानमन्त्री ओलीले भने, “घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्धदर्शनलाई हामीले पछ्याउनुपर्छ । नराम्रो मार्गमा हिँड्न हुन्न भन्ने थाहा पाइपाइकन पनि त्यस बाटोमा मान्छे हिँडिरहेको हुन्छ । त्यसबाट लाभ हुँदैन भन्ने थाहा पाएर गलत कामको लत बसाउनु हुँदैन । अशल मार्गमा हिँड्न सक्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकासित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए।   आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुन सक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै