वडा नं.४ ले जिते बिर्तामोड अन्तरवडा फुटबलको उपाधि – Sagarmathapana:: Online News Portal

वडा नं.४ ले जिते बिर्तामोड अन्तरवडा फुटबलको उपाधि

   २०८१ आश्विन २५ गते  

काठमाडौं । बिर्तामोडमा भइ रहेको अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले  उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर ४ च्याम्पियन बनेको हो ।

जितसँगै वडा नम्बर ४ ले १ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पायो । दोस्रो भएको वडा नम्बर ५ ले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्यो।
फाइनल खेलको प्लेयर अफ द म्याच वडा नम्बर ४ का नगेन्द्रमणि लिम्बू भए । उनले २ हजार रुपैयाँ र ट्रफी पाए ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका वडा नं. ४ का हिसुब थपलियाले १० हजार रुपैयाँ र ट्रफी पाए ।
उत्कृष्ट प्रशिक्षक वडा नम्बर ४ का गोपाल राई तथा गोलकिपर वडा नं. ४ का रोशन शाह भए ।

उत्कृष्ट डिफेन्डर वडा नं. ४ का प्रविन सिटौला, मिडफिल्डर वडा नं.५ का अंकुर तामाङ, फरवार्ड वडा नं. ९ का दिशान्त राई भए । उनीहरुले ५ हजार रुपैयाँ र ट्रफी पाए ।

यसैबीच, आजै सम्पन्न भेट्रान प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । वडा नं. ५ लाई ५–० गोलअन्तरले हराउँदै वडा नम्बर १० च्याम्पियन बनेको हो ।उपाधिसँगै वडा नम्बर १० ले २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता बनेको वडा नम्बर ५ ले १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो

झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेतालाई विशिष्ट अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा अध्यक्षहरु, समिति अध्यक्ष विकास गिरी, प्रतियोगिता संयोजक सन्तोष गुरुङ, मिसन बिर्तामोडका संयोजक माधवकुमार झा लगायतले पुरस्कार वितरण गरेका थिए ।

समिति अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा भएको थियो । कार्यक्रमको सञ्चालन समिति सचिव बिसन लिम्बूले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै