
ललितपुर।शिक्षण सिकाइमा नवीनता भित्र्याउँदै गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यसहित आयोजित अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरमा सम्पन्न भएको छ। ‘From Ideas to Impact’ अर्थात् ‘विचारदेखि व्यवहारसम्म’ भन्ने नाराका साथ झम्सिखेलस्थित द ब्रिटिश स्कुलमा सम्मेलन आयोजना गरिएको हो।
ECEC Innovation in Education को आयोजनामा सम्पन्न सम्मेलनमा करिब ४०० जना शिक्षक, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यालय सञ्चालक तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा बालविकास तथा प्रारम्भिक शिक्षा, नवीन शिक्षण विधि, विद्यालय नेतृत्व, पाठ्यक्रम विकास, समावेशी शिक्षा, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि तथा प्रविधिमैत्री सिकाइका विषयमा गहन छलफल गरिएको थियो। विभिन्न विज्ञहरूले आ–आफ्ना अनुभव, अनुसन्धान तथा अभ्यास प्रस्तुत गर्दै शिक्षा क्षेत्रलाई समयानुकूल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहभागीहरूले परम्परागत शिक्षण पद्धतिलाई नवीन सोच र प्रविधिसँग जोड्दै विद्यार्थीकेन्द्रित, सिर्जनशील, व्यावहारिक तथा समावेशी शिक्षण प्रणालीको विकास गर्नुपर्ने धारणा राखेका थिए।
सम्मेलनले शिक्षा क्षेत्रमा देखिएका चुनौती, सम्भावना र नवीन अभ्यासबारे अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै शिक्षक, विद्यालय तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच सहकार्य र साझेदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ।
विचार र अवधारणालाई व्यवहारमा रूपान्तरण गर्दै शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यसहित सम्पन्न सम्मेलनले नेपालको शैक्षिक रूपान्तरणमा नवीन अभ्यास र अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।








