EN
मेनु
Flash News

अबुधाबीमा ‘नेसनल फेस्टिभल अफ टोलरेन्स २०२६’ सुरु, नेपालको पर्यटन र संस्कृति विश्वमाझ चिनाइँदै


अबुधाबी।अन्तर्राष्ट्रिय सहिष्णुता दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा ‘नेसनल फेस्टिभल अफ टोलरेन्स २०२६’ सुरु भएको छ। ‘Growing in Unity’ अर्थात् ‘एकतामा समृद्धि’ भन्ने नारासहित नोभेम्बर १३ देखि १५ सम्म आयोजना हुने महोत्सवमा नेपालले पर्यटन प्रवर्द्धन र सांस्कृतिक प्रस्तुतिमार्फत सहभागिता जनाएको छ।

युएईका सहिष्णुता तथा सहअस्तित्व मन्त्री शेख नह्यान बिन मुबारक अल नह्यानको संरक्षकत्वमा सहिष्णुता तथा सहअस्तित्व मन्त्रालयले आयोजना गरेको महोत्सव अबुधाबीस्थित उम्म अल इमारात पार्कमा सञ्चालन भइरहेको छ। महोत्सव तीनै दिन अपराह्न ४ बजेदेखि राति ११ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।


महोत्सवमा नेपाली राजदूतावास, अबुधाबीले विशेष पर्यटन स्टल राखेर नेपालको प्राकृतिक सौन्दर्य, पर्यटकीय गन्तव्य, कला, संस्कृति तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गरिरहेको छ। नोभेम्बर १३ देखि १५ सम्म सञ्चालन हुने नेपाली पर्यटन स्टलमार्फत नेपालका प्रमुख पर्यटकीय आकर्षण र सांस्कृतिक विविधताबारे जानकारी प्रदान गरिने दूतावासले जनाएको छ।

त्यसैगरी, नोभेम्बर १५ तारिख राति ९:४५ बजे नेपालको विशेष सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम छ। उक्त प्रस्तुतिले नेपाली कला, मौलिक संस्कृति र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न देशका पर्यटन, कला तथा संस्कृतिलाई समेटेर सांस्कृतिक प्रस्तुति, ग्लोबल हेरिटेज शोकेस, कला प्रदर्शनी, अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि आयोजना भइरहेका छन्।

महोत्सवले विभिन्न देशका समुदायबीच सांस्कृतिक आदानप्रदान, आपसी समझदारी, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको भावना अभिवृद्धि गर्ने विश्वास आयोजकले लिएको छ।

नेपाली राजदूतावासले युएईमा रहेका नेपाली समुदाय तथा अन्य इच्छुक व्यक्तिहरूलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ। महोत्सवमा सहभागितामार्फत नेपाली पर्यटन तथा संस्कृतिको प्रचारप्रसार गर्नुका साथै विविधता, आपसी सद्भाव र शान्तिपूर्ण सहअस्तित्वको सन्देश फैलाउन दूतावासले सबैलाई आह्वान गरेको छ।