EN
मेनु
Flash News

वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी हुँदै सभामुख अर्याल

काठमाडौं।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन आज शनिबार पर्सा जाने हुनुभएको छ। उहाँले वीरगञ्जस्थित प्रसिद्ध घडिअर्वा पोखरीसहित विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ।

सभामुख अर्यालको भ्रमणका क्रममा मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ।

यसअघि गत वर्ष पनि सभामुख अर्याल छठ महापर्वका अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुग्नुभएको थियो। सो अवसरमा उहाँले छठी मइयाको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्नुभएको थियो। साथै, स्थानीय श्रद्धालु भक्तजन तथा नागरिकसँग पर्वको खुसी साटासाट गर्नुभएको थियो।

छठ पर्व नेपाली समाजमा धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा स्थापित छ। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वले समाजमा आपसी प्रेम, सहकार्य र एकताको भावना अभिवृद्धि गर्दै आएको छ।