EN
मेनु
Flash News

छठ पर्वमा सोमबार पनि सार्वजनिक बिदा, लगातार दुई दिन सरकारी कार्यालय बन्द

काठमाडौं।सरकारले छठ पर्वको अवसरमा आगामी कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

गृह मन्त्रालयले बिहीबार कात्तिक २७ गते सूचना जारी गर्दै कात्तिक २९ गते आइतबार मुख्य छठ पर्वको बिदा यथावत् रहेको र त्यसको भोलिपल्ट सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा छठ पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई ध्यानमा राख्दै थप एक दिन बिदा दिने निर्णय गरिएको उल्लेख छ।

छठ पर्वको अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा छ। यही परम्परालाई मध्यनजर गर्दै सरकारले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारको निर्णयसँगै छठ मनाउने समुदायका साथै सर्वसाधारणले समेत दुई दिनको सार्वजनिक बिदा पाउने भएका छन्।