महोत्तरी।कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको चारदिने छठ पर्वले महोत्तरीसहित मिथिला क्षेत्रमा उत्साह र उमङ्ग थपेको छ। सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने पर्वका लागि गाउँबस्ती, बजार तथा नदी–पोखरीका छठघाटमा तयारी तीव्र पारिएको छ।
घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने युवाहरू छठघाट निर्माण, सरसफाइ र सजावटमा सक्रिय छन्। बजारमा केराका घरी, उखु, अदुवा, बेसार, ज्यामिर, बाँसका सामग्री तथा माटाका भाँडाकुँडा किन्नेको भीड बढेको छ।
यसैबीच घरघरमा ठकुवा, भुसुवा लगायतका प्रसाद बनाउने चटारो पनि बढेको छ। चार दिनसम्म चल्ने छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुने परम्परा छ।







