EN
मेनु
Flash News

खोटाङका पत्रकार तथा कलाकार योगिन राईको ३४ वर्षको उमेरमै निधन

खोटाङ।खोटाङका पत्रकार तथा कलाकार योगिन राईको ३४ वर्षको उमेरमा निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी राईको बुधबार निधन भएको हो।

मंगलबार साँझ छाती दुखेको भन्दै असहज महसुस गरेपछि आराम गर्न बसेका राई साँझ करिब ७ः३० बजे आराम गरिरहेको स्थानमै बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि परिवारले तत्काल अटोमार्फत उनलाई दिक्तेलस्थित फेमेली केयर अस्पताल पुर्‍याएका थिए।

फेमेली केयर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल लगिएको थियो। तर, जिल्ला अस्पताल पुग्दा नै उनको निधन भइसकेको अस्पताल स्रोतले जनाएको छ।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय राई जिल्लामा परिचित सञ्चारकर्मी थिए। उनले टिभी फिल्मीबाट चलचित्र पत्रकारिताको यात्रा सुरु गरेका थिए। पत्रकारितासँगै कलाकारिता क्षेत्रमा समेत सक्रिय रहेका उनी नेपाल प्रेस युनियन खोटाङका सहसचिवसमेत थिए।

राईको असामयिक निधनप्रति पत्रकारिता, कलाकारिता तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

पारिवारिक स्रोतका अनुसार स्वर्गीय राईको पार्थिव शरीरको कार्तिक २६ गते दिउँसो ३ बजे बाम्राङमा अन्त्येष्टि गरिनेछ।