रौतहट-लागुऔषध दुर्व्यसनले युवा पुस्तालाई प्रभावित पार्दै गएपछि यसको नियन्त्रण तथा न्यूनीकरणका लागि रौतहटका युवाहरू सक्रिय रूपमा जनचेतनामूलक अभियानमा जुटेका छन् । युवादेखि अभिभावकसम्मलाई लागुऔषधको जोखिमबारे सचेत गराउने उद्देश्यले सञ्चालन भइरहेको अभियान जिल्लाका विभिन्न नगरपालिका, बजार, गाउँ तथा विद्यालयसम्म विस्तार भएको छ ।
जेन–जी आन्दोलनपछि जेनजी नेपाल रौतहटको आयोजनामा अभियानलाई थप सक्रिय बनाइएको छ । यसैक्रममा बुधबार सदरमुकाम गौरमा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक र्याली निकालिएको छ ।
र्यालीमा ठूलो संख्यामा युवाहरूको सहभागिता रहेको थियो । विभिन्न सन्देशमूलक नारासहित नगरका प्रमुख चोक तथा बजार क्षेत्र परिक्रमा गर्दै सहभागीहरूले लागुऔषध दुर्व्यसनविरुद्ध सामाजिक जागरण फैलाउने सन्देश दिएका थिए ।
विशेषगरी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गरी लागुऔषध सेवनबाट उत्पन्न हुने शारीरिक, मानसिक, पारिवारिक र सामाजिक समस्याबारे जानकारी गराउँदै आएको सामाजिक अभियन्ता शैलेन्द्र यादवले बताए । उनले अभिभावकलाई समेत आफ्ना सन्तानको गतिविधिप्रति सचेत रहन आग्रह गर्दै आएको जानकारी दिए ।
यादवका अनुसार रौतहटमा सञ्चालित यो अभियान जेन–जी आन्दोलनपछि मात्रै सुरु भएको होइन । करिब चार वर्षअघि आफ्नै व्यक्तिगत पहलमा गरुडा नगरपालिका–५ महम्मदपुरबाट अभियानको सुरुवात गरिएको थियो । सुरुमा सीमित स्रोतसाधन र व्यक्तिगत प्रयासबाट सञ्चालन गरिएको अभियान अहिले जिल्लाका विभिन्न स्थानमा विस्तार भएको छ ।
‘समाजमा लागुऔषध दुर्व्यसनको समस्या बढ्दै गएको र यसको प्रत्यक्ष असर युवा पुस्तामा देखिन थालेपछि स्थानीयस्तरबाटै सचेतना फैलाउने प्रयास थालेको हुँ,’ यादवले भने, ‘ग्रामीण भेगका गाउँघरमा पुगेर युवाहरूलाई लागुऔषधको नकारात्मक असरबारे जानकारी गराउने र अभिभावकलाई आफ्ना सन्तानको गतिविधिप्रति सचेत रहन आग्रह गर्दै आएका छौँ ।’
अभियानप्रति स्थानीय समुदायको चासो बढ्दै गएपछि जिल्लाका अन्य स्थानमा पनि यसको विस्तार गरिएको यादवले बताए । उनका अनुसार शिवनगर चोक, फतुवा विजयपुर नगरपालिकाका विभिन्न विद्यालय तथा बजार, परोहा, गौर, चन्द्रपुर र गुजरा नगरपालिकालगायतका क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
अभियन्ता यादवले लागुऔषध दुर्व्यसनलाई कुनै एक व्यक्तिको मात्र समस्या नभई परिवार, समाज र समग्र राष्ट्रकै चुनौतीका रूपमा लिनुपर्ने बताए । विशेषगरी किशोरकिशोरी तथा युवाहरू यसको जोखिममा पर्न सक्ने भएकाले विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि समुदाय, अभिभावक, विद्यालय, युवा समूह तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको अभियानका अभियन्ताहरूको जोड छ ।







