काठमाडौँ।जन अधिकार पार्टीले छठ पर्वका अवसरमा देशभर तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ। साथै, छठ पर्वलाई नेपालको राष्ट्रिय पर्वका रूपमा औपचारिक घोषणा गरी राष्ट्रिय मान्यता प्रदान गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरदसिंह यादवले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सरकारसमक्ष चारबुँदे माग अघि सारेका हुन्।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले छठ पर्वलाई नेपाली समाजको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा सम्मान र मान्यता दिनुपर्ने पार्टीको भनाइ छ।
विगतमा तराई–मधेस क्षेत्रमा सीमित रहेको छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा समेत श्रद्धा, आस्था र उत्साहका साथ मनाउन थालिएको विज्ञप्तिमा उल्लेख छ।
सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, स्वच्छता, अनुशासन, सामाजिक सद्भाव, पारिवारिक एकता तथा समानताको सन्देश प्रवाह गर्ने पार्टीले जनाएको छ।
छठ पर्वमा लाखौँ श्रद्धालु भक्तजन चार दिनसम्म विभिन्न धार्मिक विधि, परम्परा र आस्थाका साथ सहभागी हुने भएकाले यसको महत्वलाई ध्यानमा राख्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिनुपर्ने पार्टीको माग छ।
त्यसैगरी, छठ पर्वको संरक्षण, प्रवर्द्धन र सम्मानका लागि आवश्यक नीतिगत व्यवस्था गर्न तथा यसलाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्न पनि पार्टीले सरकारसँग आग्रह गरेको छ।








