EN
मेनु
Flash News

नबिन सुब्बाको निर्देशनमा ‘लाहुरे जुत्ता’को छायांकन सुरु, मेन्छायेमबाट शुभमुहूर्त

काठमाडौं।निर्देशक नबिन सुब्बाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘लाहुरे जुत्ता’को छायांकन सुरु भएको छ।पूर्वी पहाडी जिल्ला तेह्रथुमको मेन्छायेम गाउँपालिकाबाट चलचित्रको छायांकन थालिएको हो।

गत कार्तिक २२ गते मेन्छायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले क्ल्यापबोर्ड बजाएर चलचित्रको शुभमुहूर्त गरेका थिए। शुभमुहूर्तसँगै सोही दिनदेखि छायांकन अघि बढाइएको निर्देशक सुब्बाले जानकारी दिएका छन्।

‘नुमाफुङ’ र ‘गाउँ आएको बाटो’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका सुब्बाले यसपटक ‘लाहुरे जुत्ता’मार्फत नयाँ कथावस्तु दर्शकमाझ ल्याउने तयारी गरेका छन्।

लामो समयदेखि तयारीमा रहेको चलचित्रले छायांकनमा प्रवेश गर्नुअघि कलाकारहरूसँग ६ महिनाभन्दा बढी समय वर्कसप गरेको थियो। उक्त अवधिमा कलाकारहरूलाई अभिनय अभ्यास, पात्र निर्माण तथा चलचित्रको परिवेशसँग परिचित गराउने काम गरिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रका निर्माता आमोद राई र पूर्णसिंह बराइली हुन्। निर्माता राईका अनुसार चलचित्रमा १८ देखि २५ वर्ष उमेर समूहका नयाँ कलाकारहरूले डेब्यु गर्दैछन्।

नयाँ पुस्ताका कलाकार र अनुभवी निर्देशकको सहकार्यमा निर्माण भइरहेको ‘लाहुरे जुत्ता’ले नेपाली चलचित्र क्षेत्रमा कस्तो प्रभाव छाड्नेछ भन्ने चासो बढेको छ।