काठमाडौं।हास्यव्यङ्ग्यात्मक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरेको छ। समीरको निर्देशनमा निर्माण भएको चलचित्र आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ। पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल सामूहिक रूपमा प्रस्तुत भएका छन्।
कलाकारहरूको अनुहारमा देखिने फरक–फरक हाउभाउ र भावभङ्गीले चलचित्र हास्य तथा व्यङ्ग्यले भरिपूर्ण रहेको संकेत गर्छ। पोस्टरको प्रस्तुतिले चलचित्रको कथावस्तु र पात्रहरूप्रति दर्शकमाझ कौतूहलसमेत सिर्जना गरेको छ।
फस्टलुक सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा निर्माण पक्षले गरेको छ। अब माघ २८ गतेबाट दर्शकले ‘तिरिमिरी झ्याइँ’लाई नजिकैका सिनेमाघरमा हेर्न पाउनेछन्।







