काठमाडौं।चलचित्र विकास बोर्डले विभिन्न विषयगत समितिमा विज्ञ तथा इच्छुक चलचित्रकर्मीलाई सदस्यका रूपमा आबद्ध गराउन आवेदन आह्वान गरेको छ।
बोर्डबाट गठन हुने विभिन्न समितिको काम, कारबाहीलाई थप प्रभावकारी, व्यवस्थित र विशेषज्ञतामा आधारित बनाउने उद्देश्यले बोर्डले आवेदन खुला गरेको हो।
बोर्डले चलचित्र क्षेत्र तथा यससँग सम्बन्धित विभिन्न विधामा ज्ञान, सीप, अनुभव र रुचि भएका व्यक्तिहरूलाई समितिमा आबद्ध गराउने जनाएको छ।
सूचनाअनुसार चलचित्र निर्माता, निर्देशक, चलचित्र अनुसन्धानकर्ता, अनुसन्धानमा रुचि भएका व्यक्ति, विषयगत विज्ञ, कार्यक्रम व्यवस्थापक तथा कार्यक्रम र परियोजना सञ्चालनसम्बन्धी मोडालिटी विज्ञलगायत चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा दक्षता र अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
इच्छुक व्यक्तिहरूले आफ्नो विषयगत विज्ञता खुल्ने गरी व्यक्तिगत विवरण (CV) सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको इमेल fdbnepal@gmail.com मा पठाउनुपर्नेछ।
थप जानकारीका लागि बोर्डको WhatsApp नम्बर ९८०३४१२९५६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।
बोर्डले विज्ञता र अनुभवका आधारमा विभिन्न समितिमा चलचित्र क्षेत्रका दक्ष जनशक्तिको सहभागिता बढाउने अपेक्षा गरेको छ।
सूचना प्रकाशित मिति : २०८३/०७/२०








